काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् ।
वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको उनको भनाइ छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले अहिले देशका सामु जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका हुन्।
प्रचण्डले राष्ट्रिय समस्या र संकटहरूको समाधान केवल ‘अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी’बाट मात्रै सम्भव हुनेमा जोड दिएका छन्। उनले यसका लागि दुईवटा कार्यभारलाई अपरिहार्य मानेका छन्।
प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरेका छन् ।
‘देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ,’ उनले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।’
साथै, प्रचण्ड संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुनसमेत आह्वान गरेका छन् ।
माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रिया अन्तिम समयमा गएर टुट्ने संकेत देखिएपछि प्रचण्डले यस्तो अपिल गरेका हुन् । एकीकृत समाजवादीमा झलनाथ खनाल र घनश्याम भुसाललगायत माओवादीसँग तत्काल एकता गर्न नहुने पक्षमा छन् । माओवादीमै पनि अन्य नेता एकताको विपक्षमा छन् ।














प्रतिक्रिया