काठमाडौं । कात्तिक १२ गते (बुधबार) देखि बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न रोक लगाइने भएको छ । धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकामा अवस्थित बन्चरेडाँडा ल्यान्डफिल साइडमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहका फोहोर व्यवस्थापन गरिँदै आएको थियो ।
तर तीन वर्षअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयनमा नआएको भन्दै बुधबारदेखि फोहोर फाल्न नदिइने धुनिवेशीका स्थानीय अमृत लामाले जानकारी दिए । उनका अनुसार दैनिक साढे दुई सय गाडी फोहोर काठमाडौं महानगरपालिकाका टिपरले लैजाने गरेका छन् । जथाभावी फोहोर फाल्नाले ल्यान्डफिल साइट भरिन लागेको छ ।
सहरी विकास मन्त्रालयले बनाएको ल्यान्डफिल साइटमा २० वर्षसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने बताइएको थियो ।
२०७९ जेठ २६ गते सिसडोल बञ्चरेडाँडा–कुण्डले ल्याण्डफिल साइटमा फोहरमैला व्यवस्थापनमा सहजताका लागि १८ बुँदे सहमति गरिएको थियो ।
जसमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातिको समयमा गर्ने, रातिका लागि आवश्यक पूर्वाधार बत्ती तथा बाढीको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिनाभित्र गर्ने, सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौ महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने,, फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण, मुआब्जा वितरणलगायतका कार्य गर्न महानगरपालिकाले नेपाल सरकारको सम्बद्ध मन्त्रालय तथा निकायमा पहल गर्नेलगायतका सहमति भएको थियो । तर हालसम्म एउटा पनि कार्यान्वयनमा आउन नसकेको स्थानीयको गुनासो छ ।
यस्तै, कडा रोग लागेका प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि महानगरबासीले प्राप्त गरेसरह सुविधा उपलब्ध गराउने, फोहोरमैला व्यवस्थापनका कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने कार्यलाई निरन्तरता दिने सहमति भएको थियो । सहमतिपत्रमा काठमाडौंका मेयर बालेन्द्र साह बालेन, उपमेयर सुनिता डंगोल, तत्कालीन प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका–१ का वडाध्यक्ष, पदमबहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामा, धुनिवेशी नगरपालिका–१ का अध्यक्ष श्रीमानबहादुर तामाङ र वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका थिए ।
तर कार्यकालको साढे तीन वर्ष बिताइसकेका मेयर बालेनले सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएको स्थानीय अमृत लामाले गुनासो गरे । ‘काठमाडौंका मेयर बालेनलाई धेरैचोटि भेट्न खोज्यौं । तर उनले भेट दिएनन् । उनी राजा महाराजा भन्दा ठूला भइहाले । त्यसपछि सिंहदरबार पुगेर सहरी विकासमन्त्री कुलमान घिसिङलाई भेट्यौं । र, पहिले भएका १८ बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै पूरा नभए फोहोर फाल्न नदिने अवगत गरायौं,’ उनले भने ।
पटक पटक सहमति कार्यान्वयनको माग गर्दा उल्टै स्थानीयलाई झुटा मुद्दा लगाउने गरेको उनको भनाइ छ । ‘२४–२५ जनालाई मुद्दा लगाएकोमा अझै दुई तीनजनाको बाँकी छ । काठमाडौंका जनप्रतिनिधिलाई भन्यो हाम्रो त व्यवस्थापन मात्र हो भन्छन् । सहरी विकास मन्त्रालयलाई भन्यो, हाम्रो पूर्वाधार बनाउने मात्र काम हो भन्छन् । पीडितहरु राज्यका कुन अंगसँग कुराकानी गर्ने हो ?
तीन वर्षदेखि फोहोर फालिँदै आएको छ । तीन महिना, ६ महिना, एक वर्षमा गर्ने भनेको काम एउटा पनि भएको छैन,’ लामाले भने । अब सशक्त भएर दुवै स्थानीय तहका जनताले काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने उनको भनाइ छ ।














प्रतिक्रिया