जेनजी विध्वंशपछि तीन दिनसम्म के के भयो ? अभियन्ता ईःले खुलाए रहस्य


काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनपछिका नयाँ सरकार गठन हुनुअघिसम्म के के राजनीतिक चलखेल भए भन्ने विषयमा अभियन्ता इन्जिनियर ईःई ले धेरै रहस्य खोलेका छन् ।

जेन–जी आन्दोलनपछि सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन प्रधानमन्त्री बन्न तम्सिएको तर पछि परिस्थिति काबु बाहिर पुगेपछि पछि हटेको दाबी गरेका छन्। ‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनु थियो,’ ईःले लेखेका छन्, ‘सुरुमा तम्सिए पनि परिस्थिति सोचेकोभन्दा विकराल भएपछि उनले खुट्टा कमाए । दोस्रोमा रवि थिए, तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो,’ मंगलबार फेसबुकमा उनले लेखेका छन्।

त्यसपछि भदौ २५ गते पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चलेको तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य नभएपछि रोकिएको उनले जानकारी दिएका छन् ।

‘प्रारम्भ बिन्दुमा यस्तो सानो वृत्तमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए,’ ईःले लेखेका छन्, ‘यसमा बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, विधिसम्मत ढंगले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठुलो भूमिका थियो । त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो।’

अर्यालको सट्टा गृहमन्त्री बनाउने प्राथमिकतामा महानगर प्रहरी प्रमुख राजु पाण्डे, नभए समावेशिताका लागि मिरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसम्भव प्रयास गरेको पनि उनले दाबी गरेका छन्। त्यो प्रयास अहिले पनि जारी रहेको उनले खुलाएका छन्।

‘गृहमन्त्री कमीकमजोरीरहित व्यक्ति होइनन्। तर सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्छ,’ उनले लेखेका छन्। अहिले पनि ठुलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धामा रहेको उनले लेखेका छन्।

‘अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो विडम्बना१ कस्तो निर्लज्जता !’ ईःले लेखेका छन्, ‘स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनु नै पर्छ । आममानिसको हकमा मात्र नभई जबाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनै पर्छ।’

सबैको आआफ्नो स्वार्थपूर्ण निकास परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही रहेको उनले दाबी गरेका छन्।