सोलुखुम्बुमा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटना, पाइलटलाई काठमाडौं ल्याइँदै


काठमाडौं । सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार पाइलट विवेक खड्का सकुशल छन् ।

दुर्घटनामा परेका क्याप्टेन खड्कालाई लुक्लामै रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला विमानस्थलमा ल्याएको छ। अब त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं ल्याइनेछ ।

क्याप्टेन खड्का पर्यटकको उद्धारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर बुधबार बिहानै लोबुचे पुगेका थिए।

मंगलबारदेखि सगरमाथा क्षेत्रमा बाक्लो हिमपात भएको छ । सोही कारण हेलिप्याडमा हेलिकोप्टर चिप्लिएको प्रहरीको भनाइ छ । बाक्लो हिमपातले हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ ।