मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र गृहमन्त्रीले पत्रकारसँग कुरा गर्नै चाहेनन्


काठमाडौं । प्रधानमन्त्री सुशील कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारसँग कुरा गर्न अस्वीकार गरेका छन् । बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद् बैठक सकिएपछि बाहिर निस्केका कार्की र अर्याललाई सञ्चारकर्मीहरूले विभिन्न प्रश्न सोधेका थिए । तर प्रधानमन्त्री र गृहमन्त्री दुवैले अस्वीकार गर्दै गाडी चढेर हिँडे ।

सञ्चारकर्मीहरूले प्रधानमन्त्री कार्कीलाई गृहमन्त्री फेरबदल गर्न लागेको हो र भनेर प्रश्न सोधेका थिए । तर कार्की सञ्चारकर्मीहरूतिर हेर्दै नहेरी गाडी चढेकी थिइन् ।

यस्तै, बैठकबाट बाहिरिँदै गरेका गृहमन्त्री अर्याललाई मन्त्रिपरिषद्ले के के निर्णय गर्यो ? भनेर प्रश्न सोधिएको थियो । उनले पनि जवाफ दिन आवश्यक ठानेनन् । सरकारले सञ्चारमन्त्री जगदीश खरेललाई सरकारको प्रवक्ता तोकेको छ । प्रवक्ताले नै जानकारी गराउँछन् भनेर भनिए पनि विगतमा मन्त्रीहरूले मिडियालाई यसरी एभ्वाइड भने गरेका थिएनन् । तर जेनजी आन्दोलनको बलमा बनेको सरकारका प्रधानमन्त्री र गृहमन्त्री डेढ महिनामै मिडियासँग बोल्न डराएको बुधबारको घटनाले पुष्टि गर्छ ।