काठमाडौं । प्रधानमन्त्री कार्यालयले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब नदिएको स्पष्ट पारेको छ । केही दिनदेखि सञ्चारमाध्यममा बालेनले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिइरहेको भन्दै समाचार आएपछि बिहीबार प्रधानमन्त्रीको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको छ ।
‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ। कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन,’ प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप वर्तमान सरकार गठन भएको र गृहमन्त्री अर्याल फागुनमा तोकिएको निर्वाचन सफल पार्न लागिपरेको प्रधानमन्त्रीको निजी सचिवालयले स्पष्ट पारेको छ ।
‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ। यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया