आज साँझदेखि देखिने छ मोन्था चक्रवातको असर, २४ देखि ३६ घन्टासम्म भारी वर्षा


काठमाडौं । बुधबार रातिदेखि नेपालका अधिकांश भागमा पानी पर्न सुरु भएको छ । दुई तीन दिनदेखिको पश्चिमी न्यूनचापीय वायु प्रणालीको असरले बिहीबार बिहानदेखि पानी पर्न थालेको हो ।

मौसवविद् उज्ज्वल उपाध्यायका अनुसार अझै नेपालमा बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको असर देखापरेको छैन । बिहीबार साँझदेखि मात्र मोन्था चक्रवातको असर देखिनेछ । यसको असरले नेपालमा २४ देखि ३६ घन्टासम्म पानी पर्ने उनको भनाइ छ ।

मौसम विज्ञान विभागले भने बिहीबार बिहानदेखि सुरु भएको चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहने जनाएको छ। विभागका अनुसार चक्रवातको असर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मोन्था चक्रवातका कारण कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना रहेको उनको भनाइ छ। यस चक्रवातसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि परेको मौसमविद् बिनु महर्जनले बताइन्।

बिहीबार बिहान सुरु भएको वर्षा शुक्रबार बिहानसम्म जारी रहने र शनिबारबाट मात्रै मौसम सफा हुने अर्का मौसमविद् उज्ज्वल उपाध्यायले बताए। बिहीबार बिहान काठमाडौं उपत्यकालगायतका स्थानमा भएको वर्षा पश्चिमी वायुको गतिविधिले गराएको र बिहीबार अपरान्हदेखि मोन्था आँधीको प्रभाव पूर्ण रूपमा सक्रिय हुने उनको भनाइ छ।

विशेष गरी बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

मौसम विभागले चक्रवातको जोखिमलाई ध्यानमा राख्दै बिहीबारदेखि अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।