काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको दाबी गरेकी छन् । सरकार, दल र जेनजी प्रतिनिधिबीच बुधबार राति भएको वार्तामा उनले आफूले राजनीतिक नेतासँग डिल गर्ने क्षमता नभएकाले प्रधानमन्त्री बन्न नचाहेको बताउँदै आफू राष्ट्रपति कार्यालयबाट हिँडेको उनको भनाइ थियो ।
‘म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ। म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो,’ उनले भनिन् ।
कार्कीले सरकार गठन हुँदा विदेशी हस्तक्षेप नभएको दाब्री पनि गरिन् । तर जेनजीकै अभियन्ता भने हरेक संवादमा प्रधानमन्त्री कार्कीले बारबरा फाउन्डेसनको तारिफ र प्रशंसा गर्ने गरेको बताउने गरेका छन् । अहिलेको सरकारमा अधिकांश मन्त्री बारबार फाउन्डेसनमा आबद्ध भएका छन् ।
कार्कीले आफूले प्रधानन्यायाधीश हुँदा गरेको फैसलाको उपेक्षा गरेकी छन् । खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष हुँदा कार्कीले फैसला गर्दै प्रधानन्यायाधीशले कुनै पनि हालतमा राजनीतिक नियुक्ति लिन नमिल्ने उल्लेख गरेकी थिइन् । तर अहिले उनै कार्की विशेष परिस्थिति बन्दै आफू प्रधानमन्त्री भएकोमा त्यसलाई सही भन्न थालेकी छन् ।
‘अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन। हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो,’ उनले त्रिपक्षीय संवादमा भनिन् ।














प्रतिक्रिया