काठमाडौं । कांग्रेसमा नियमित र विशेष महाधिवेशन दुवै हुन नदिन १४ भाइ सक्रिय भएका छन् । त्यसका लागि देउवा पक्षका १४ भाइको योजनामा जिल्ला जिल्लामा हस्ताक्षर अभियान सुरु गर्न थालिएको छ ।
असोज २८ बाट जारी केन्द्रीय समिति बैठकबाट वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने र १५औं महाधिवेशन २०८३ सालमा मात्र गर्ने संस्थापन पक्षको रणनीति छ । मंसिरमा नियमित महाधिवेशनको लागि केन्द्रीय कार्यसमिति तयार नभए विशेष महाधिवेशनको विकल्पमा जाने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको योजनामा ‘ब्रेक’ लगाउन संस्थापन पक्षले हस्ताक्षर संकलन थालेको हो ।
‘केन्द्रीय समिति बैठकले लिने निर्णय हामीलाई मान्ने हुनेछ’ भनेर लेखिएको फारममा संस्थापन पक्षले जिल्लाजिल्लामा पठाएर महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गराइरहेको छ । कांग्रेसमा तत्काल महाधिवेशन नचाहनेमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, नेताहरु विजय गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउद, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डेलगायत छन् । १४ भाइले शेखर कोइराला पनि आफ्नो पक्षमा आउने प्रचार गरेको छ ।
केन्द्रीय समिति बैठकमा कार्यसमितिको कार्यकाल नथप्ने प्रस्ताव आए महाधिवेशन प्रतिनिधिकै हस्ताक्षरमार्फत काउन्टर दिने रणनीतिमा संस्थपान पक्ष लागेको छ । देउवा पक्षका अधिकांश डेट एक्सपायर र जनाधार नभएका नेताकै कारण २०८२ मा नियमित र विशेष दुवै तरिकाबाट कांग्रेसको महाधिवेशन हुने सम्भावना न्यून छ ।














प्रतिक्रिया