बालेनलाई गायिका ज्योति मगरको कटाक्ष, कुनै शक्तिबाट परिचालित छैन भन्न मध्यरातिको भँडास


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन शनिबा मध्यराति सामाजिक सञ्जालमा लेखेको स्टाटसका कारण अहिले चर्चा र विवादमा छन् । शनिबार राति ललितपुरको एउटा क्याफेमा बसेर बालेनले अमेरिकादेखि एमाले–कांग्रेससम्मलाई अश्लील शब्दमा गाली गरेर स्टाटस लेखेका थिए । उनले तिमीहरू सबै मिल्दा पनि केही गर्न सकेनौ भनेर कटाक्ष गरेका थिए । तर बिहानै उनले त्यो स्टाटस डिलिट गरे ।

बालेनको स्टाटसलाई लिएर रातिदेखि नै चर्चा परिचर्चा भइरहेको छ । धेरैले उनलाई मानसिक समस्या देखिएकाले मनोपरामर्शको आवश्यकता देखिएको भनेर टिप्पणी गरेका छन् । कतिपयले संघीय राजधानीको मेयरको स्टाटसले सम्पूर्ण नेपालीकै बेइज्जत भएको भन्दै उनको आलोचना गरिरहेका छन् ।

एमाले नेता कार्यकर्ताले बालेनलाई पक्राउ गर्नुपर्नेसम्मको दबाब दिइरहेका छन् । एमाले नेता महेश बस्नेत र सूर्य थापाले त बालेनलाई देशद्रोहीको संज्ञा दिएका छन् । धेरैले बालेनलाई गँजेडी भन्दै अन्धकारमा बसेर नेपाली जनता र देशप्रति खेलवाड गरेको आरोप लगाएका छन् ।

यसैक्रममा गायिका ज्योति मगरले भने बालेनलाई शिष्ट भाषामा कटाक्ष हानेकी छन् । बालेनले अहिलेसम्म गरेका क्रियाकलापप्रति ज्योतिले उनलाई स्मरण गराएका छन् । आफूलाई कुनै पनि शक्तिबाट परिचालित नभएको देखाउन मध्यरातमा भँडास पोखेको ज्योति मगरको भनाइ छ ।

उनले लेखेकी छन्, ‘गरिब को चमेली बोल्दिने कोही छैन भन्दै गरिबहरुको ठेला उठाउनु भो । म नेपाल हाँसेको हेर्न चाहन्छु भन्दै जेनजी उक्साएर सर्लक्कै देश जलाउनु भो । जुन जुन शक्तिको आडमा फिल्मी स्टाइलमा बितन्दा मच्चाउनु भो त्यही शक्तिहरुले थेचार्न थालेपछिको असन्तुष्टि छर्लंग ।’

उनले थप लेखेकी छन्, ‘रातको १२ बजे मुख छोड्दा हुने फाइदा, भँडास डिटक्स, कुनै शक्तिबाट परिचालित छैन भन्ने प्रमाण, सुठ्ठाको क्वालिटी पर्फेक्ट भएको प्रमाण, खास बुढी मार्न खोजेको काल पल्क्यो ब्रो ।’

ज्योतिले राति पिसाब फेर्न उठ्दा श्रीमतीले थाहा पाएर स्टाटस डिलिट गर्न लगाएको नत्र भने अहिलेसम्म धेरै लाइक र भ्युज आउँथ्यो भनेर व्यंग्य पनि गरेकी छन् ।