कांग्रेसमा जागे ४० वर्षमुनिका युवा, गरे पार्टी कार्यालयमा तालाबन्दी


काठमाडौं । कांग्रेसमा महाधिवेशनको किचलोले पार्टी नै बन्धक बनेपछि युवा जागेका छन् । कांग्रेस सुधार अभियान (४० वर्षमुनि) ले आइतबार कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । उनीहरूले पार्टी कार्यालयको गेटमा तालावन्दी पनि गरेका छन् ।

पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षै घेरा तोडेर अभियान सम्वद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । उनीहरूलाई पार्टीलाई बन्धक बनाउन पाइँदैन भन्दै पदाधिकारी र केन्द्रीय सदस्यलाई खबरदारीसमेत गरेका छन् ।

पार्टी कार्यालयको प्रागणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नारावाजी गरिरहेका छन् । उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस्’, ‘आमकांग्रेसजन र युवाहरुको भावनालाई नजरअन्दाज नगरियोस्,’ लगायतको नारा लगाएका छन् ।

जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँचबिना प्रवेश रोकिएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने तय थियो । तर महाधिवेशनकै किचलोका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।