पूर्वपदाधिकारी सात भाइले बखेडा झिकेपछि संस्थापनमै चिरा, केन्द्रीय सदस्यको छुट्टै भेला बानेश्वरमा


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि बैंक्वेटमा छलफलमा जुटेका छन् ।

उनीहरूले पार्टीको १५औँ महाधिवेशनमा लक्षित गर्दै रणनीतिक छलफल गर्नेछन् । विशेष महाधिवेशन माग गर्दै पार्टी कार्यालयमा दर्ता भएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबारेमा टुंगो लगाउन पनि भेलाले आग्रह गर्नेछ ।

उनीहरूले पार्टीलाई वडा तहदेखि केन्द्रसम्म पुर्नगठन आवश्यक रहेको भन्दै छलफल गर्दै आएका छन् । सभापति शेरबहादुर देउवा निकट सात पूर्वपदाधिकारीले बखेडा झिकेपछि केन्द्रीय सदस्यहरू छुट्टै छलफलमा जुटेका हुन् । विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, प्रकाशशरण महत, विजयकुमार गच्छदारले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव स्वीकार नगर्न दबाब दिँदा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

विशेष महाधिवेशनका पक्षधरले सोमबार नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । छलफलमा सहभागीहरूले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्म पार्टी र देशमा उत्पन्न हुने गरेका हरेक राजनीतिक उतारचढाव, वादविवाद, द्वन्द र विग्रहमा पार्टी नेतृत्वले बडो सुझबुझ र परिपक्वता साथ उपयुुक्त निर्णय गरेर सम्पूर्ण नेपालीहरु र पार्टीका साथीहरूलाई आश्वस्त बनाउने सामर्थ्य र कुशलता प्रदर्शन गर्न सक्नुपर्ने आग्रह गरेका थिए ।

कोइरालाले चार वर्षे समयसीमाभित्र १५औं महाधिवेशन वा यसको विकल्पमा केन्द्रीय समितिको आव्हानमा विशेष महाधिवेशन,महाधिवेशनका लागि अविलम्ब एउटै कार्यतालिका र विेशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको बताएका थिए ।