काठमाडौं । चलचित्र विकास बोर्डले दसैंयता प्रदर्शनमा आएका सात चलचित्रको व्यापारको विवरण सार्वजनिक गरेको छ । हरेक सोमबार बोर्डले बक्स अफिस रिपोर्ट प्रकाशन गर्ने गर्छ । जसअनुसार सोमबार प्रकाशित बक्स अफिस रिपोर्टमा अनमोल केसी स्टारर ‘जेरी अन टप’ अगाडि छ ।
दसैँको फुलपातीका दिन तीनवटा चलचित्र रिलिज भएका थिए । तीनवटै चलचित्रमा दर्शक बाँडिँदा कसैले पनि उल्लेख्य कमाउन सकेनन् । सन्तोष सेनको ‘बलिदान’ ले अहिलेसम्म पाँच करोड १० लाख ३४ हजार कलेक्सन गरेको छ । बक्स अफिसमा बलिदानको एक लाख ७१ हजार टिकट काटिएको छ । समिर भट्ट अभिनित चलचित्रले सुरुका दिनमा निकै हाइप लिएको थियो ।
यस्तै, हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’ ले चार करोड ७१ लख ३७ हजार कलेक्सन गरेको छ । यो चलचित्र हेर्न एक लाख ४९ वटा टिकट बिक्री भएको थियो । चलचित्रमा हरिवंशका अलावा प्रकाश सपूत, स्वस्तिमा खड्कालगायतको अभिनय छ ।
निर्देशक रोहित अधिकारीको ‘माइतीघर’ ले पनि आशातीत व्यापार गरेको छ । रिपोर्टअनुसार ‘माइतीघर’ ले चार करोड १५ लाख ५१ ह्जार कलेक्सन गरेको छ । यो चलचित्र हेर्न एक लाख ४३ हजार टिकट बिक्री भएको छ । ‘माइतीघर’ ले विदेशमा नेपालको जस्तै व्यापार गरेको निर्माता अधिकारीको भनाइ छ ।
दसैंका बेला रिलिज भएको हिन्दी सिनेमा ‘कान्तरा च्याप्टर १’ ले ११ करोडभन्दा बढी व्यापार नेपालमा गरेको छ ।
त्यसपछि तिहारमा रिलिज भएको अनमोल केसी स्टारर ‘जेरी अन टप’ को दबदबा अहिले पनि कायम छ । चलचित्रले १० करोड ५१ लखको व्यापार गरेको छ । सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप हेर्न तीन लाख ३३ हजर टिकट बिक्री भएको छ । चलचित्रमा जसिता गुरुङ, आँचल शर्मा, केदारप्रसाद घिमिरेलगायतको अभिनय रहेको छ ।
त्यस्तै, दयाहाङ राई र विजय बराल अभिनित ‘वरिष्ठ बलराम’ ले अहिलेसम्म दुई करोड ४८ लाखको व्यापार गरेको छ । चलचित्र हेर्न ८२ हजार टिकट बिक्री भएको छ । त्यसपछि विल्सनविक्रम राईको ‘मैझारो’ ले एक करोडको व्यापार गरेको छ । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्र हेर्न ३३ हजार ९४२ वटा टिकट बिक्री भएको छ ।
सबैभन्दा कमजोर व्यापार ‘सोल्टिनी’ चलचित्रको छ । प्रकाश सपूत जस्ता कलाकार हुँदा पनि चलचित्रले अहिलेसम्म २८ लाख ८० हजारको मात्र व्यापार गरेको छ । बक्स अफिसमा यो चलचित्र फ्लप सावित भएको छ ।
यो रिपोर्ट नेपालका चलचित्र भवनमा प्रदर्शनमा आएका सिनेमाको मात्र हो । यी सबै चलचित्रको विदेशको व्यापार यसमा जोडिएको छैन । यो कात्तिक १५ गते रातिसम्मको रिपोर्ट हो ।














प्रतिक्रिया