प्रचण्ड र माधव नेपाल ‘नेपाली कम्युनिस्ट पार्टी’ जन्माउँदै


काठमाडौं । कात्तिक १८ गते (बुधबार) ‘नेपाली कम्युनिस्ट पार्टी’ को जन्म हुने भएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपालले ‘नेपाली कम्युनिस्ट पार्टी’ खोल्ने भएका हुन् । बुधबार माओवादी, एकीकृत समाजवादीसहित आठ दल–समूहबीच एकता भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ को जन्म हुन लागेको हो ।

‘नेपाली कम्युनिस्ट पार्टी’ को संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल हुने भएका छन् । यसअघि ‘नेकपा समाजवादी’ नाम राख्ने सहमति जुटेको थियो । तर एकता प्रक्रियाबाट जनार्दन शर्मा आउट भएपछि ‘नेपाली कम्युनिस्ट पार्टी’ खोल्न लागिएको हो । ‘नेकपा समाजवादी’ नाम जनार्दनले जुराएकाले त्यो नराखेर नयाँ नाम राख्ने निश्चित भएको माओवादी नेता शक्तिबहादुर बस्नेतले खुलाएका छन् । उनले आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचन केन्द्रित गरेर माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले धुबार राजधानीको भृकुटीमण्डपमा गर्ने एकता घोषणापछि ‘नेपाली कम्युनिष्ट पार्टी’ को निर्माण हुने सार्वजनिक गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार अन्तर्वार्ता दिँदै बस्नेतले प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बनेर नेपाली कांग्रेस जस्तै नेपाली कम्युनिष्ट पार्टीको जन्म हुने र त्यसपछि सेतो पुष्टभूमीमा पाँच तारे रातो तारा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने बताए ।

‘अहिले वाम एकतासँगै एकतापछि हुने पार्टीको नामको विषयमासमेत छलफल भइरहेको छ । नेपाली कांग्रेसजस्तै नेपाली कम्युनिष्ट पार्टीमा प्रायः सहमति नजिक पुगेका छौ । भोलि नेपाली विशेषतासहितको नेपाली कम्युनिष्ट पार्टी घोषणा हुनसक्छ । नेपाली कम्युनिष्ट पार्टीले नेपाली विशेषतासहितको समाजवादको अध्ययन गर्छ । संयोजक र सह–संयोजकको मोडलमा अघि बढ्ने पार्टीभित्र अहिलेको आवश्यकता अनुसार केन्द्रीय समितिभित्रको संरचना निर्माण हुन्छ । जसमा केन्द्रीय समिति, राजनीतिक समिति (पोलिटब्युरो), सचिवालय र कार्यसंयोजन समिति हुनेछ,’ उनले भनेका छन् ।

प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजक रहने उनको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीमा जेन–जी पुस्ता, महिला, युवादेखि वयोबृद्धसम्मको सहभागिता रहने जानकारी दिँदै उनले मुलुकलाई एकतावद्ध गराएर निकाशको बाटोमा हिँडाउन नयाँ विचार, सोचसहित नयाँ मार्गचित्र तयार भइरहेको बताए । मंगलबार विघटित माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।