जेनजी आन्दोलनले बुढा नेताहरू मिले, युवाहरू अर्कै बाटो हिँडे


काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनको मुख्य माग र नारा सुशासन कायम, भ्रष्टाचार अन्त्य र बन्द सामाजिक सञ्जाल खुला गर्ने थियो । त्यस दिन आन्दोलन भड्केर हिंसामा परिणत भएपछि १९ जनाले ज्यान गुमाए । भोलिपल्ट भदौ २४ गते विध्वंश मच्चियो । खर्बौंको सरकारी र निजी सम्पत्ति जलाइयो । ५० जनाको मृत्यु भयो ।

सयौं घाइते भए । भदौ २४ को विध्वंशले पाँच घन्टामै केपी ओली नेतृत्वको सरकार ढल्यो । नेता र दलहरूको जग हल्लियो । बुढा नेताहरू डेट एक्सपायर्ड भएको र जनताबाट तिरस्कृत भएको जेनजी आन्दोलनको सन्देश थियो । तर अहिले दुई महिनामै बुढा नेताहरू पदका लागि आपसमा मिलेका छन् ।

पार्टी फुटाएर पनि नेताहरू मिल्ने क्रम जारी छ । तर तिनै पार्टीका युवा नेताहरू भने अर्कैतिर लागेका छन् । प्रचण्ड, माधवकुमार नेपाल, अशोककुमार राई, झलनाथ खनालहरूको मन मिलेको छ । घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रविक्रम चन्द विप्लव, रामकुमारी झाँक्री, किसान श्रेष्ठहरू भने अर्को बाटोमा लागेका छन् । बुढाहरू फेरि मिलिरहेका छन्, सत्ताको खेलमा हातेमालो गर्दै। युवा नेताहरु मात्रै होइन, जेनजीहरू पनि फुटिरहेका छन् ।

पुराना पुस्ता कहिल्यै एकअर्काको विरुद्ध लड्दैनन्, उनीहरू सधैं सत्ताको नाफा बाँड्छन् भन्ने युवा नेता र जेनजीले बुझेको देखिएन । नयाँ पुस्ता, परिवर्तनका नाममा एकअर्काविरुद्ध उत्रिने गरेका छन् । त्यही भएर अहिले निर्वाचन आयोगमा १२५ वटा दल दर्ता भएका छन् । जसमा धेरैजसो युवा नेताहरु सामेल छन् ।