सिंहदरबार पुगे रवि लामिछाने, यस्तो छ कारण


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सिंहदरबार पुगेका छन् । उनी बुधबार दिउँसो प्रहरी गाडीमा सिंहदरबार पुगेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट निस्केर घर गएको विषयमा रवि सिंहदरबारस्थित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा बयान दिन गएका हुन् । बयान सकेर उनी बेलुकी नख्खु जेल फर्केछन् ।

आयोगले रविलाई बयान दिन मंगलबार पत्र पठाएको थियो । यसअघि नख्खु कारागारका जेलर सत्यराज जोशीसँग आयोगले बयान लिएको थियो । बयानमा उनले आफूलाई डरधम्की दिएर साइन गर्न लगाएपछि जुन पत्र ल्याइएको थियो, त्यसमै हस्ताक्षर गरेको उनले बताएका थिए । त्यसपछि आयोगले रविलाई बयान दिन बोलाएको हो । रवि जेलबाट निस्केपछि देशभरका १७ जेलबाट १४ हजार कैदीबन्दी बाहिर निस्केका थिए । अझै पाँच हजार फरार छन् ।

आयोगले रविलाई जेलबाट निकाल्न सहयोग गर्ने उनकी पत्नी निकिता पौडेल, रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, हरि ढकाललगायतसँग पनि बयान लिने तयारी गरेको छ ।