दुई दिनपछिको प्रेस कन्फ्रेन्सले गृहमन्त्रीको कुर्सीको भविष्य बताउने सुधन गुरुङको चेतावनी


काठमाडौं । ‘हामी नेपाल’ एनजिओका संयोजक सुधन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालसँग आक्रोशित भएका छन् । उनले प्रधानमन्त्रीको प्रियपात्र बनेर कुर्ची बच्छ भन्ने नसोच्न चेतावनीसमेत दिएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याललाई लामो पत्र लेखेका छन् ।

उनले दुई महिनासम्म एउटा पनि काम गर्न नसकेको भन्दै ‘हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै पत्र लेखेका हुन् । उनले जनताको भरोसा पूरा गर्न नसकेको उल्लेख गरेका छन् । भ्रष्टाचारीलाई कारबाही गर भन्दा जेनजीलाई कारबाही गर भन्ने सुनेको भन्दै उनले पदमा टाँसिएर नबस्न चेतावनी पनि दिएका छन् । ‘देशभरबाट हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर भन्ने आवाज उठ्दा जेनजीलाई कारबाही गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।

सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई,’ उनले लेखेका छन् ।

गुरुङले देशको हितका लागि लड्दा आफूले ठूलो अपमान र चरित्रहत्या सहनुपरेको बताएका छन् । ‘अहिलेसम्म के हुन्छ कि भनेर देशको हितका लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्रहत्यासमेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ, किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ,’ उनले भनेका छन् ।

सुधन गुरुङले चुनावको नाटक नचलाउन चेतावनी पनि दिएका छन् । ‘८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जेनजीका माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन। अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रियपात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ चेतावनी दिँदै उनले भनेका छन् । सुधनले कात्तिक २२ गते पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो भावी रणनीति सार्वजनिक गर्न लागेका छन् ।