रवि लामिछानेको मुद्दा एक नम्बर इजलासमा, के आउला आदेश ?


काठमाडौं । सहकारी ठगीसम्बन्धी कसूर र संगठित अपराध अभियोग लागेका रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया ग्रुपका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र पूर्वडीआइजी जोशीको मुद्दाको सुनुवाइका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बिहीबार पेसी तोकिएको छ।

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीशद्वय बासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि रवि र छवि थुनामा छन्। आज उनीहरुको मुद्दाको सुनुवाइ एक नम्वर इजलासको ३ नम्वर क्रम संख्यामा रहेको छ । केही दिनअघि पनि रवि र छविको मुद्दाको सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो ।

तर रविले सुप्रिम सहकारी ठगीमा आफूमाथि लागेको अभियोगको मागदाबीअनुसारको पौने तीन करोड रुपैयाँ बैंक डिपोजिट गर्न पाउँ भन्दै अदालतमा रिट निवेदन दिएका हुन् ।