कांग्रेसको नियमित र विशेष महाधिवेशन हुँदैन भनेर ठोकुवा गर्ने सिटौलाको हैसियत के ?


काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौला यतिबेला पार्टीको नियमित महाधिवेशन वा विशेष महाधिवेशन रोक्न निकै जोडबलका साथ लागेका छन् । ३० वर्षसम्म कांग्रेस नेतृत्वले काखी च्यापेका कारण सिटौलाको पार्टीमा बोलबाला थियो । तर पछिल्लो १० वर्षयता उनी खुम्चिँदै गएका छन् । यतिबेला उनको हैसियत केन्द्रीय सदस्य हो । त्यो पनि मनोनीत । तर उनै सिटौला अहिले कांग्रेसको महाधिवेश भाँड्न अग्रमोर्चामा लागेका छन् ।

कांग्रेसमा २४८८ अर्थात् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टीका कार्यबाहक सभापति पू्रर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइसकेका छन् । जसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको पनि साथ छ । महामन्त्रीले विशेष महाधिवेशनको माग गरेको भन्दै सिटौला अहिले दुवै महाधिवेशन हुँदैन भनेर नेतृत्वलाई चुनौती दिन थालेका छन् । निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन नहुने उनको ठोकुवा छ ।

आफूलाई राष्ट्रपति रामचन्द्र पौडेललले चुनावअघि महाधिवेशन नगर्नु भनेको भन्दै उनले मिडियालाई बोलाएर भ्रम छर्न थालेका छन् । जबकि कांग्रेस सभापति शेरबहादुर देउवाले नै नियमित महाधिवेशन गर्न निर्देशन दिइसकेका छन् । कांग्रेस पार्टीमा आफ्नो विरासत जोगाउन र कतै सभापति भइहालिन्छ कि भनेर सिटौलालगायत आधा दर्जन पूर्वपदाधिकारी यतिबेला पार्टीमा किचलो ल्याउन लागिपरेका छन् । सिटौलाकै डिजाइनमा अहिले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नियमित महाधिवेशनको माग गर्दै भेला आयोजना गरिएको छ ।

जबकि भेला गर्नुको मुख्य उद्देश्य विशेष महाधिवेशनको माग गर्दै दबाब दिने महाधिवेशन प्रतिनिधिलाई काउन्टर दिनु हो भन्ने सबैले बुझेका छन् । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भन्दै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निकट बनेका सिटौलाले यस बीचमा झापा कांग्रेसलाई मात्र होइन, सिंगो पार्टी संगठनलाई खाडलमा पुर्याएको उनलाई बुझेका एक भुक्तभोगी कांग्रेस नेताले बताए ।

अहिले उनको मिसन भनेको कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा आउन नदिनु भएको आमकांग्रेसीजनको बुझाई छ । सिटौलाले आफ्नो असली रूप मंगलबारको कांग्रेस कार्यसमिति बैठकमा महामन्त्रीविरुद्ध बोलेर देखाइसकेका छन् ।