काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले उच्च अदालत पाटनमा हालेको रिट खारेज भएको झन्डै दुई साता भयो । तर पाण्डे अहिले पनि महानगरमा प्रहरी प्रमुखको पदमै बहाल छन् । त्यति मात्र होइन, उनको रवाफ पहिलेकै जस्तो छ ।
सात आठ महिनाअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले पाण्डेलाई स्पष्टीकरण सोध्दै निलम्बन गरेका थिए । आफू महानगरमा प्रवेश गर्ने बेला हुलहुज्जत गरेको र अवरोध गरेको भन्दै गुरागाईले पाण्डेलाई स्पष्टीकरण सोधेर पदबाट निलम्बन गरेका थिए । आफूलाई निलम्बन गरेपछि उनी अदालत गएका थिए । अदालतले तत्काल नहटाउन आदेश दियो । तर केही दिनअघि अदालतले उनको रिट नै खारेज गरिदिएपछि स्वाभाविक रूपमा पाण्डे पदमा बहाल नहुनुपर्ने हो । तर अहिले पनि उनी नगर प्रहरी बलको प्रमुखकै हैसियतमा छन् ।
त्यति मात्र होइन, आफूलाई नेपाल प्रहरीको एसएसपी बराबर भन्दै कालो चश्मा लगाएर मेयर बालेन्द्र साह बालेनको आदेशमा थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय डोजर लगाएर भत्काउन प्ुगेका छन् । ६ महिनाका लागि निमित्त नगर प्रहरी प्रमुख बनेका पाण्डे साढे दुई वर्ष बितिसक्दा पनि कुर्सीमै छन् । उनले लगाएको फुली नै गैरकानुनी छ । विद्यासुन्दर शाक्य मेयर हुँदा कर्मचारी समायोजनका नाममा निरीक्षकबाट दुई तह वृद्धि भई एसपी बन्न सफल भएका थिए । तह वृद्धि पनि नियमविपरीत छ । यी सबै कुरा जान्दाजान्दै पनि पाण्डेलाई कामु एसएसपी पदमा लैजान आदेश दिने बालेन र फुली लगाइदिने तात्कालिन प्रशासकीय प्रमुख वसन्त अधिकारी दुवै दोषी मानिन्छन् ।
जेनजी आन्दोलनभन्दा अघिसम्म गुरागाइँलाई सार्न खोज्ने बालेन अहिले भने सरोज नै ठीक हो भन्न थालेका छन् । पाण्डेलाई एसएसपी पदमा राखिराख्न गुरागाइँले बालेनसँग मौखिक सहमति गरेको बुझिएको छ । त्यसै कारण उच्च अदालतले आदेश दिँदा पनि त्यसलाई कार्यान्वयन नगरी सरोज गुरागाइँले राजु पाण्डेलाई हटाएका छैनन् ।














प्रतिक्रिया