मधेशमा एमालेकै प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री


धनुषा – मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मधेशमा एमालेबाहेकका दल मिलेर लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुवेदीसमक्ष निवेदन बुझाइएको थियो । तर प्रदेश प्रमुख सुवेदीले सोमबार एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटलमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

अब मधेशमा एमालेकै प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख भएका छन् । सुवेदीलाई केपी ओली प्रधानमन्त्री हुँदा प्रदेश प्रमुख नियुक्त गरेका थिए । सभामुख रामचन्द्र मण्डल एमालेकै सांसद हुन् । मधेशमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

एमालेले प्रदेश प्रमुखको आडमा ‘कू’ गरेको भन्दै मधेशमा विरोध भइरहेको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कडा आपत्ति जनाएका छन् ।
स्वास्थ्य उपचारका नाममा प्रदेश बाहिर निस्किएकी प्रदेश प्रमुख सुवेदीले संविधान र कानुनी मर्यादाको खुला उल्लंघन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठन गरेको उनको आरोप छ ।