अनुप उपाध्यायलाई अघि सारेर कुलमान खेल्दैछन् यस्तो खेल, आजै निर्वाचन आयोग जाने


काठमाडौं – अन्ततः ऊर्जामन्त्री कुलमान घिसिङ पार्टी खोलेर मैदानमा आउने निर्णयमा पुगेका छन् । फागुन २१ गते आमनिर्वाचन गराउने दायित्व लिएको अन्तरिम सरकारमा तीनवटा प्रमुख मन्त्रालय लिएर बसेका घिसिङले पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर ‘उज्यालो नेपाल’ नाम दर्ता गर्ने भएका छन् ।

आफू अध्यक्ष वा संयोजक हुँदा मन्त्री पदबाट राजीनामा दिनुपर्ने भएकाले कुलमानले आफ्ना पुराना साथी उपाध्यायलाई संयोजक बनाउने निर्णयमा पुगेका हुन् ।

५१ सदस्यीय केन्द्रीय समिति सहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी भइरहेको छ। उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ प्रस्ताव गरिएको छ। उज्यालो नेपाल सुशासनको प्रतीक रहेकाले त्यही उद्देश्यसहित अगाडि बढ्ने जितकुमार वाइवाले बताए ।

‘उज्यालो नेपाल’ पार्टीलाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनको पनि समर्थन रहेको बुझिएको छ । बालेनले दल नखोल्ने भएका छन् । बरु उनले कुलमानकै पार्टीलाई समर्थन गर्ने बुझिएको छ । बालेन र कुलमानको अहिले सम्बन्ध राम्रो छ ।

कुलमानको पार्टीमा रास्वपाकी पूर्वसहमहामन्त्री सुमना श्रेष्ठ सामेल हुने भएकी छन् । तर कार्यसमितिमा बस्ने नबस्ने कुनै टुंगो लागेको छैन । सुमनाले विकास दल वा नेपाल जनसेवक दल नाम राख्न सुझाव दिएकी थिइन् । तर कुलमानले नमानेको बुझिएको छ । कुलमानले ‘लोडसेडिङ अन्त्यसँगै उज्यालो नेपाल ब्रान्ड बनेको’ भन्दै सोही नाम कायम गर्नुपर्ने अडान राखेपछि सुमना पछि हटेकी हुन् ।

कुलमानको पार्टीमा नागरिक उन्मुक्ति पार्टीका केही नेताहरू पनि सामेल हुने भएका छन् । तर नाम बाहिर ल्याइएको छैन । रेशम चौधरी र रञ्जिता श्रेष्ठ दुवै अलग अलग दलमा क्रियाशील हुने भएपछि नाउपाका धेरैले नयाँ दल रोज्न लागेका हुन् ।