रहेनन् बलिउडका ‘वीरु’ अर्थात् धर्मेन्द्र देओल


काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, उपचारकै क्रममा उनको मंगलबार बिहान निधन भएको हो ।

धर्मेन्द्रको अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार भर्नापछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो।

छोरा सनी देओल सोमबार राति अस्पताल बाहिर अत्यन्तै भावुक देखिएका थिए । बबी देओल पनि ‘अल्फा’ को छायांकन छोडेर मुम्बई फर्किएका छन्। शाहरुख खान र सलमान खानलगायत सयौं बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए।

धर्मेन्द्रको निधनसँगै बलिउडमा एउटा इतिहासको अन्त्य भएको छ । ‘शोले’ चलचित्रमा उनले निभाएको ‘वीरु’ चरित्रले धर्मेन्द्रलाई बलिउडका ‘वीरु’ भनेर चिनिन्थ्यो । बलिउडमा एक्सन चलचित्रलाई सफल बनाउन धर्मेन्द्रको मुख्य भूमिका मानिन्छ । उनका प्रकाश कौर र हेमा मालिनी गरी दुई श्रीमती छन् । हेमा मालिनीसँग बिवाह गरेपछि उनी प्रकाश कौरसँग अलग बस्दै आएका छन् । प्रकाश कौरबाट सनी देओल र बबी देओलको जन्म भएको हो ।