मधेश घटनाले दलहरू अझै नचेतेको देखियो : नारायणकाजी श्रेष्ठ


काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनपछि अझै पनि दलहरू नचेतेको बताएका छन् । श्रेष्ठले मधेश प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रकरणले दलहरूमा अझै पनि चेत नखुलेको बताए ।

‘हिजो मधेश प्रदेशमा तत्कालीन प्रदेश प्रमुखमार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो ,यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरु यत्रो जेनजी विद्रोहपछि पनि चेतेका छैनन्,’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

जेनजी विद्रोहले पार्टीमा शुद्धीकरण र रुपान्तरण गर्न दबाब दिए पनि अझै पुरानै घटना दोहोरिएकामा आक्रोश व्यक्त गरेका छन् ।

‘जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरुको शुद्धिकरण र रुपान्तरण हो भन्ने कुरालाई लत्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरुमा अहिले पनि विभिन्न घटनाहरुमा देखिएका छन्, जुन ज्यादै घातक छ। तसर्थ जेनजी आन्दोलनकारीहरू र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एकपटक राजनीतक पार्टीहरूको शुध्दीकरण तथा रुपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रुपमा आवाज उठाउनुपर्ने भएको छ,’ उनले भनेका छन् ।