प्रचण्ड र माधव एउटै पार्टीमा भएपछि विप्लवले छाडे समाजवादी मोर्चा


काठमाडौं । नेत्रविक्रम चन्द विप्लवलाई आफ्नो पार्टीमा भित्र्याउने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको आशामा तुषरापात लागेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाड्ने निर्णय गरेसँगै प्रचण्ड र माधवको इच्छा पूरा नहुने भएको हो ।

नेकपाका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिएका हुन् । २०८० असार ४ गते चार दल माओवादी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले समाजवादी मोर्चा निर्माण गरेका थिए । पछि यादवले पनि मोर्चा छाडे । त्यसपछि महीन्द्र राय यादवलाई मोर्चामा मिसाइएको थियो । महीन्द्र यादव अहिले प्रचण्ड र माधवको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन् ।

जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएको भन्दै विप्लवले सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै गएको अवस्थामा समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकालेका छन् ।

‘व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढी पनि सकेका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन्,’ उनले भनेका छन्, ‘यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।’

विप्लवले निर्वाचन आयोगमा कम्युनिस्ट पार्टी नेपाल दर्ता गरेका छन् । उनको दलले आयोगबाट प्रमाणपत्रसमेत पाइसकेको छ । अब उनी निर्वाचनमा होमिने तयारीमा लागेका छन् ।