मधेश सरकारको भविष्यबारे आज सर्वोच्चमा सुनुवाइ हुने


काठमाडौं । मधेश प्रदेश सरकारको भविष्यबारे बुधबार सर्वोच्च अदालतले आदेश सुनाउने भएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

एमालेबाहेकका ७४ प्रदेश सभा सदस्यले मंगलबार दायर गरेको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
संविधानको धारा १६८ (३) बमोजिम गठन भएको सरकारविरुद्ध मधेशका ७४ सांसदले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक विधिबाट मुख्यमन्त्री नियुक्ति प्रक्रिया आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । सर्वोच्चको आदेशसँगै यादव नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ ।

स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौंतर्फ हिँडेकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरुलाई छलेर प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई बर्दिवासको एक होटलमा शपथ ग्रहण गराएपछि असन्तुष्ट दलहरु सर्वोच्च पुगेका हुन् । प्रदेश प्रमुख सुवेदी पदमुक्त भइसकेकी छन् ।