सधैँ धुर्मुस–सुन्तलीको तारिफ गर्ने रविले आफू ठाउँमा हुँदा पनि किन दिन सकेनन् न्याय ?


काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा निर्माण सुरू भएको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको जाँचबुझमा कुनै कैफियत फेला परेन । छैटौंपटक प्राविधिक मूल्यांकन गर्दा पनि कैफियत नभेटिएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा पुल्चोक क्याम्पसको मूल्यांकनका आधारमा सिर्जित सम्पत्ति खरिद गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम असार मसान्तमै अर्थ मन्त्रालयबाट भरतपुर महानगरपालिकाको खातामा निकासा भइसकेको छ । तीन अर्ब लागतमा बनाउन लागेको रंगशालामा अपेक्षा गरेअनुसार चन्दा संकलन नभएपछि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणबाट हात झिकेको थियो ।

७२ करोडको संरचना भरतपु महानगरलाई बुझाएका धुर्मुसले १८ करोड ४३ लाख रुपैयाँ ऋणको बोझबाट भने अझै मुक्ति पाएका छैनन् । निर्माण कम्पनीहरूलाई तिर्न बाँकी यो रकम फरफारकका लागि उनले पाँच वर्षदेखि सरकारी निकायमा ताकेता गर्दै आएका छन् । उनी भरतपुर महानगरदेखि सिंददरबारसम्म लगातार धाइरहे पनि अहिलेसम्म सो रकम भुक्तानी हुन सकेको छैन । यसका लागि आफूले निकै सास्ती खेपेको तथ्य सार्वजनिक गरेका छन् । कतिसम्म भने रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदासमेत धुर्मुसले न्याय पाएनन् ।

जबकि धुर्मुस सुन्तली फाउन्डेसनले बनाउँदै गरेको रंगशालाबारे रवि आफैं जानकार थिए । रवि चितवन २ बाट निर्वाचित भएका थिए । धुर्मुसका अनुसार बनेको हिसाब छिनोफानो गरिदिन उनले सिंहदरबारमा धेरै बिन्ती गर्थे । ‘आज गयो, ‘भोलि आउनू’ भन्छ । भोलि गयो, ‘कागजात पुगेन’ भन्छ । पर्सि गयो, ‘फेरि अडिट रिपोर्ट बनाउनू’ भन्छ । निकोर्सि गयो, ‘अब काम हुन्छ’ भन्छ । कानेकोर्सि गयो, ‘यो काम यहाँबाट हुँदैन’ भन्छ,’ धुर्मुसले भनेका छन् ।

यो उपक्रम वर्षौं चलिरहेपछि धुर्मुसको नौनाडी फतक्कै गल्यो । अन्ततः उनलाई मृत्यु भन्दा आफूले बाँचिरहेको जीवन कठोर लाग्न थाल्यो । एकदिन उनी सिंहदरबार पुगेर मन्त्रीको अघिल्तिर उभिए । अनि जंगिएर भने, ‘मलाई यही सिंहदरबारभित्र मर्न दिनुहोस् ।’ त्यसअघि उनले रवि लामिछानेलाई भेटेका थिए, जो तत्कालीन गृहमन्त्री थिए । उनलाई लागेको थियो, ‘मैले जे गरें, जसरी गरें, जहाँसम्म गरें त्यो सबै रवि लामिछानेलाई राम्ररी थाहा छ ।’ रवि लामिछाने सामुन्ने धुर्मुसले आफ्नो दुःख बिसाए । आफ्नो हैरानीको बेलिबिस्तार लगाए ।

अनि भने, ‘न मैले सफाइ पाउँछु, न ममाथि कारबाही हुन्छ । यदि म अपराधी हुँ, भ्रष्टचारी हुँ भने किन मलाई हतकडी लगाउनुहुन्न ?’ तर, न धुर्मुसले रविबाट आफ्नो प्रश्नको उत्तर पाए । न अल्झिएको हिसाबको छिनोफानो । न ‘गल्ती भए सजाय दिनू’ भन्दा त्यो पाए । न ‘म निर्दोष भए छुटकारा दिनू’ भन्दा मुक्ति पाए । तर पनि सरकारकै एक निकायले गरेको अध्ययनमा कुनै कैफियत नभेटिएपछि भने धुर्मुस सुन्तली खुसी देखिएका छन् । यसले आफूमाथि लागेको भ्रष्टाचारको ट्याग हट्ने उनले विश्वास गरेका छन् ।