काठमाडौँ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् ।
केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकताको प्रक्रियामा छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र मंगलबारसम्ममा दुई लाख नौ हजार पाँच सय २२ नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
कात्तिक २५ गतेसम्ममा एक लाख २२ हजार सात सय ४० पुरूष, ८६ हजार सात सय ८५ महिला र अन्य २७ गरी दुई लाख नौ हजार पाँच सय २२ जना नयाँ मतदाता थपिएका हुन् । कात्तिक २५ गते मात्रै १३ हजार ६६ पुरूष, १० हजार पाँच सय ६७ महिला र अन्य पाँच गरी २३ हजार छ सय ३८ नयाँ मतदाता भएका छन् ।
आयोगमा हालसम्म राजनीतिक दल दर्ताको संख्या एक सय २५ पुगेको छ । निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगका दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी छ । पछिल्लोपटक कबिर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् ।














प्रतिक्रिया