काठमाडौं । निवर्तमान गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले भदौ २३ र २४ मा जेनजीको आवरणमा प्रायोजित संगठित र आपराधिक गतिविधि देखिएको बताएका छन् । जारी कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा उनले विद्यार्थीलाई उक्साएर कलेजबाट बानेश्वरसम्म कसले पुर्यायो ? तोडफोड आगजनी गर्न कसले उक्सायो ? भन्दै यी विषयमा अध्ययन गर्नुपर्ने बताएका छन् ।
‘यसबारेमा तत्कालीन सरकारको गृहमन्त्री रहेकोले म भन्छु– २३ गतेको कार्यक्रम जानकारी थियो। २२ गते केन्द्रीय सुरक्षा समितिको बैठक राखेको थिएँ। यो बैठकमा युवा पुस्ताको आन्दोलनको तयारी र सम्भावित तयारीका बारेमा छलफल भएको थियो। मैले मान्छे मर्नुहुन्न। शान्ति सुरक्षाको व्यवस्था गर्न भनेको थिएँ। सुरक्षा प्रमुखहरूले यसको तयारीमा लागेको बताउनुभयो,’ लेखकले भने । उनले भदौ २३ गतेको जेनजी आन्दोलनपछि आफूले गृहमन्त्री पदबाट राजीनामा दिन्छु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले मिल्दैन भन्दै रोकेको पनि बताए ।
‘भदौ २४ गते बिहानै सभापति (शेरबहादुर देउवा) कहाँ म गएँ। केही नेताहरू हुनुहुन्थ्यो। मलाई पीडा भयो दुःख भयो। मैले राजीनामा गर्छु भनेर प्रस्ताव गरेको थिएँ। राजीनामा मात्रै होइन, कांग्रेस सरकारबाट फिर्ता हुने कुरा आएको थियो। निष्कर्ष आएन। म राजीनामा दिन्छु भनेर मन्त्रिपरिषद् बैठकमा गएँ। क्याबिनेटमा पनि यही भनेँ,’ लेखकले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन भन्नु भएको थियो। तर मैले यो धरातलमा बस्न मिल्दैन भनेँ।
मैले यो मेरो अन्तिम क्याबिनेट बैठक हो, राजीनामा दिएँ भनेर लिखित पत्र बुझाएँ।’ लेखकले आफ्नो अन्तिम प्रस्ताव भन्दै सामाजिक सञ्जालको प्रतिबन्धको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको, तर ओलीले नमानेको पनि बताए । ‘यो समग्र घटनालाई सरकार परिवर्तनका लागि मात्रै हो भने मैले राजीनामा दिएकै थिएँ। प्रधानमन्त्रीले दिनुभएको थियो। यो सामान्य घटना होइन। संविधान, व्यवस्थाविरुद्ध र कांग्रेसविरुद्ध हो भन्ने निर्णय कांग्रेसले तत्काल गर्नुपर्छ,’ उनले भने ।
लेखकले कांग्रेसमा विशेष महाधिवेशन आवश्यक नरहेको पनि बताए । उनले विशेष महाधिवेशनबाट पार्टी सग्लो नरहने दाबी गरे । ‘‘मैले बमका रूपमा भन्ने गरेको छु, ‘विशेष महाधिवेशनमा जानु भनेको कांग्रेस त्यस्तो जंगलमा जानु हो, जहाँबाट निस्कने एउटै बाटो हुनेछैन, त्यहाँबाट निस्कँदा हामी अलग अलग बाटोमा हुनेछौँ,’ लेखकले भने, ‘त्यसैले विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूको हस्ताक्षर फिर्ता लिन भनौँ, उहाँहरूको भावना सम्बोधन हुने गरी पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ ।’














प्रतिक्रिया