पूर्व ऊर्जामन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा बालेनको डोजर


काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड डेभलपमेन्टले भोगचलन गरिरहेको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको नेतृत्वमा गएको महानगरको डोजरले बिहीबार बिहान संरचना भत्काएको हो ।

गुप्ताले पूर्वऊर्जामन्त्री खड्काको कम्पनीमा ताला लगाउन पुगेका थिए । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सो संरचनाबाट उठ्नुपर्ने बहाल बक्यौता नतिरेको भन्दै सात दिनको अल्टिमेटम जारी गरेको थियो। म्याद सकिएपछि स्काउटको निर्णयअनुसार महानगर प्रहरी डोजरसहित स्थलमा पुगेको हो। स्काउटले २०६५ सालमा भाडामा दिएका तीन रोपनी जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस रेस्टुरेन्ट सञ्चालनमा थिए। साथै, खड्का ल्याण्डले स्काउटका दुई व्यावसायिक भवन पनि भाडामा लिएर ३६ र १२ वटा पसल सञ्चालन गरिरहेको थियो।

स्काउटका अनुसार पटक–पटक ताकेता गर्दा पनि बहाल तिर्न नमानेपछि संरचना भत्काएर जग्गा फिर्ता लिन बाध्य हुनुपरेको हो। स्काउटले चेतावनी दिएको थियो कि बक्यौता नतिरे र सम्झौताअनुसार नचले व्यवसायिक संरचना जफत गरिनेछ। काठमाडौंका मेयर बालेन्द्र साह बालेन पहिलेदेखि नै त्यहाँको अवैध संरचना भत्काउन चाहन्थे । तर अदालतको आदेशले रोकिएको थियो । सरकार अहिले जेनजीको भएकाले भत्काइएको हो ।