जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न पाँच जना पक्राउ


काठमाडौँ – हेटौँडामा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार, बागमती प्रदेशसभा सचिवालय भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको अभियोगमा सर्लाहीको बरहथवा नगरपालिका–१ का २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो, र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) लाई पक्राउ गरिएको हो।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–११, नवलपुरमा ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगरलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिए।