सुदन गुरुङको आक्रोश : ‘गृहमन्त्री अर्याल एमालेजस्तो देखिन थाले, न्याय बिना चुनाव हुन दिँदैनौं’


काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैंले बनाएको दाबी गर्दै चर्चामा आएका ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन्। नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरेका हुन्। उनले भने, “जंगी अड्डादेखि शीतल निवाससम्म संविधानविद्का रूपमा उहाँ हाम्रो पक्षमा हुनुहुन्थ्यो, तर अहिले आएर चुनावमात्र भन्दै ढाँट्ने काम गर्नुभएको छ।”

गुरुङका अनुसार, गृहमन्त्री अर्यालको एजेन्डा चुनावमात्र रहेको छ, तर आफूहरूको एजेन्डा देशमा न्याय र व्यवस्था परिवर्तन हो। उनले थपे, “देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौं। उहाँले जेन्जीहरुलाई समातेका छन्, तर राजनीतिक पार्टीका मानिसलाई छोएका छैनन्। कहिलेकाहीं त उहाँ एमालेकै जस्तो लाग्छ।”

गुरुङले जेन्जी आन्दोलन मिलाउन दुई महिनादेखि सक्रिय रहेको दाबी गर्दै वडा–स्तरसम्म समितिहरू गठन भइसकेको बताए। उनका अनुसार, अब चाँडै ‘हामी नेपाल’ ले आगामी योजना सार्वजनिक गर्नेछ।