गृह मन्त्रालयमा बोल्दाबोल्दै महानिरीक्षक कार्कीको आँखाभरि आँशु


काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त आइजीपी दानबहादुर कार्की सम्बोधन गर्नेक्रममा भक्कानिएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित दज्र्यानी चिन्ह कार्यक्रममा गृह सचिव रामेश्वर दंगालको हातबाट फुली थापेका कार्की बोल्दाबोल्दै भक्कानिएका हुन् ।

दज्र्यानी चिन्ह लगाएपछि सम्बोधन गर्ने क्रममा सुरुमै उनको गला अवरुद्ध भयो । वीर गति प्राप्त गरेका अमर प्रहरीलाई सम्झिएर उनी केही बेर स्तब्ध बनेका हुन् । ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि कार्कीको गला अवरुद्ध भयो । टिस्यु पेपरले आँखा र नाक पुछेपछि उनी अनि फेरि बोल्न सुरु गरेका थिए ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधबारदेखि अनिवार्य अवकाश पाएपछि कार्कीले आजदेखि प्रहरीको नेतृत्व सम्हालेका हुन् ।

कार्कीको कार्यकाल २९ महिना रहनेछ । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्कीले प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । कार्की पनि यसअघिका महानिरीक्षक खापुङ जतिकै काबिल प्रहरी अधिकृत मानिन्छन् ।