सेवा निवृत्त भएकै दिन निवर्तमान आइजी खापुङलाई आपत


काठमाडौं – उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले प्रहरी सेवाबाट अवकाश पाएकै दिन निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै अनुमति बेगर उपत्यका छाड्न नपाउने निर्णय गरेको छ ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले बिहीबार निर्णय गरी सरकारलाई सिफारिस गरेको छ । ‘आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजै देखि लागू हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।

निज खापुङलाईसमेत जानकारी दिने,’ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका १९ जनाको विषयमा तत्कालीन महानिरीक्षक खापुङसँग बयान लिने तयारी गरेको छ । यसअघि आयोग र खापुङबीच फिल्डमा खटिएका प्रहरीको संख्याका विषयमा लफडा परिसकेको छ ।