एनपिएलको प्रत्यक्ष प्रसारणमा नीतिगत भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १ देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजनमा प्रत्यक्ष प्रसारण अधिकार बिक्री गर्दा नीतिगत भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

दोस्रो संस्करणको एनपीएलका सबै खेलको ओटिटी लाइभ स्ट्रिमको अधिकार डिसहोमलाई दिँदा गम्भीर अनियमितता, मिलेमतो र सम्भावित नीतिस्तरको भ्रष्टाचार भएको भन्दै बिहीबार अख्तियारमा उजुरी परेको हो ।

ओटिटी अधिकार डिसहोमलाई दिँदा क्यानको वित्तीय हितमा हानि गर्ने र राष्ट्रिय क्रिकेट प्रशासनमा विश्वसनीयता गर्ने भन्दै प्रश्न उठाइएको छ । उजुरीकर्ताले क्यानद्वारा गरिएको एनपिएल प्रसारणको अधिकार टेन्डर मूल्यांकन प्रक्रियासम्बन्धी तुरुन्त छानबिन गर्न, मूल्यांकन समितिका सदस्यहरूबीच कुनै मिलेमतो, स्वार्थपोषण वा गैरपारदर्शी निर्णय भए–नभएको स्पष्ट पार्न, छानबिनको नतिजा आउँदासम्म उक्त टेन्डर प्रक्रियामा अस्थायी रोक जारी गर्न, दोषी व्यक्ति वा निकायविरुद्ध आवश्यक कानुननी कारबाहीको माग गरिएको छ ।

क्यानले डिसहोमलाई ओटीटी प्रसारण अधिकार प्रदान गरेपछि दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्यअनुसार एनपीएलको दोस्रो संस्करणका सबै खेल डिसहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्ने जनाइएको छ ।

क्यानले प्रत्यक्ष प्रसारणको मापदण्ड परिवर्तन गर्दै बोलपत्र पेस गर्ने म्याद थप्दै लगिएकामा टेलिभिजन प्रसारकहरूले विरोध गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्स्‌ले प्रसारणको एक्स्क्लुसिभ अधिकार पाइसकेको हुनाले नेपाली टेलिभिजनलाई एक्सक्लुसिभ अधिकार दिन नमिल्ने भनी टेन्डरमा मापदण्ड परिवर्तन गरिएको छ । टेन्डर पेस गर्ने दुई घण्टाअघि मात्रै मापदण्ड हेरफेरको सूचना पठाइएकामा नेपाली टेलिभिजन सञ्चालकले विरोध गरेका छन् । त्यसपछि यसअघिको टेन्डर रद्द गरेर नयाँ टेन्डर आह्वान गरी शनिबार दिउँसो १ बजे खोल्ने गरी अर्को मिति तय भएको छ ।