काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले विशेष महाधिवेशनमा जान चुनौती दिएका छन् । केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बिहीबारको बैठकमा उनले विशेष महाधिवेशनमा जान चुनौती दिएका हुन् । उनले आन्तरिक चुनावले कांग्रेस कमजोर भएको भन्दै एकढिक्का भएर चुनावपछि नियमित महाधिवेशन गर्नुपर्ने निर्णय गर्नुपर्ने बताए।
‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो । त्यसैले हामी एकढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ,’ उनले भने ।
राठौरले फागुन २१ को निर्वाचनअगावै महाधिवेशन गर्नुपर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए । ‘होइन, गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ,’ राठौरले भने, ‘फेस गरौँ विशेष अधिवेशन । हामी फेस गर्न तयार छौँ ।’
राठौरले १४ औँ महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको टिप्पणीसमेत गरे । ‘म विशेष महाधिवेशनको पक्षमा छु । हेप्ने हामीलाई ? अपराधी जस्तो,’ उनले भने, ‘बाहिर हरुवाहरूले त चाहेका छन्, छन् । केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ । ठीक छ, चाहिएको छ भने विशेष अधिवेशनमा जाऔँ ।’
राठौर पार्टी सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री हुन् । विशेष महाधिवेशनमा जाऔं भनेर धम्की दिए पनि राठौर निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षमा भने छैनन् । देउवा निकट कोही पनि नेता महाधिवेशन गरेर निर्वाचनमा जाने आँट गर्न सकिरहेका छैनन् । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्ष भने सकेसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा छन् ।














प्रतिक्रिया