कुलमानलाई तत्काल मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग एमाले महासचिव पोखरेलको माग


काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङलाई पदबाट हटाउन माग गरेका छन् । जेनजी आन्दोलनको म्यान्डेटअनुसार गैरदलीय सरकार बने पनि कुलमानले नयाँ दल खोलेको भन्दै उनलाई हटाउन पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । पोखरेलले पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिरहनु उचित नहुने सल्लाह पनि दिएका छन् । उनले कुलमान आफैंलाई पनि नैतिक संकट उत्पन्न भएकाले मन्त्री पदबाट तत्काल बिदा लिन सुझाव दिएका छन् ।

‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने, तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?’ पोखरेलले भनेका छन् ।

कुलमान घिसिङले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर ‘उज्यालो नेपाल पार्टी’ गठन गरेका छन् । उज्यालो नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पेस भइरहेको छ । अहिलेसम्म सनाखत हुने क्रम जारी छ । कुलमान बिहीबार पार्टी बैठकमा सहभागी भएका थिए ।