एकता पौडेलको डेब्यु निर्देशनमा बनेको चलचित्रमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक भूमिकामा देखिएका हुन्।
गीतमा एलिस कार्कीको कम्पोज, सनिश श्रेष्ठ र अप्सरा घिमिरेको आवाज तथा नीरकमल खड्का (मामल)को शब्द रहेको छ। एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग शैलेन्द्र एम प्रधान (बाबु)ले गरेका छन्। ‘द भ्वाइस अफ नेपाल सिजन २’बाट चर्चित भएका गायक सनिश श्रेष्ठले पनि यसै गीतमार्फत पाश्र्व गायनमा डेब्यु गरेका छन्।
सार्वजनिक भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी देख्न सकिन्छ। गीतले दर्शकमाझ चलचित्र प्रतिको उत्साह बढाएको छ।
स्व. शिव रेग्मीकी भान्जी तथा न्यूयोर्क फिल्म एकेडेमीकी ग्र्याजुएट एकता पौडेलले निर्देशन गरेको चलचित्रमा खगेन्द्र–वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ।
आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी समावेश छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा बनेको ‘हर्ष’को कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन्। इश्वर घिमिरे प्रोडक्सन म्यानेजर र कुलदीप शर्मा मुख्य सहायक निर्देशक छन्।














प्रतिक्रिया