एमाले नेतृ शान्ता चौधरीको अचार उद्योग खरानी, घटना शंकास्पद


काठमाडौं। एमाले नेतृ शान्ता चौधरीको अचार उद्योगमा आगलागी भएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित भर्खरै उद्घाटन गरिएको ‘शान्ताको अचार’ शाखामा आगलागी भएको हो ।
शुक्रबार उद्घाटन भएको शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो ।

प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ । आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

चौधरीले सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् ।आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् । ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु,’ उनले लेखेकी छन् ।


विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।