सन्तान चाहनाले घर कस्तोसम्म बन्छ भन्ने मार्मिक कथा भन्ने चलचित्र ‘हर्ष’, मंसिर १२ मा रिलिज हुँदै


काठमाडौं – पचासको दशकमा शिव रेग्मीले बनाएका चलचित्रको छुट्टै छाप थियो । पारिवारिक र सामाजिक कथा, नारी वेदना, सुमधुर गीतसंगीतका कारण रेग्मीले निर्देशन गरेका अधिकांश चलचित्र सुपरहिट भए । आज पनि शिव रेग्मीका चलचित्र दर्शकको रोजाइमा पर्छन् ।

शिवकै शैलीमा चलचित्र लिएर आएकी छिन् उनकी भाञ्जी एकता पौडेल । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘हर्ष’ आगामी मंसिर १२ मा देशभर रिलिज हुँदैछ । ११ दिनअघि चलचित्र ‘हर्ष’ को ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलर हेर्ने दर्शकले ‘हर्ष’ लाई शिव रेग्मीको चलचित्रसँग तुलना गरेका छन् ।

‘धेरै वर्षपछि शिव रेग्मीको झझल्को मेटिने भयो। किनकि यो फिल्म शिव रेग्मीको भान्जी एकताले बनाएकी हुन्,’ जमुना थापा भन्छिन् । चलचित्रका अधिकांश दृश्य चितवनको रमणीय क्षेत्रमा सुटिङ गरिएका छन् ।

‘हर्ष’ को ट्रेलर हेर्दा पनि त्यस्तै देखिन्छ । अभिनेत्री वर्षा राउत र शर्मिला मल्लको अभिनय उत्कृष्ट रहेको अनुमान गर्न सकिन्छ । धेरै पछि शर्मिला मल्लले ठूलो पर्दामा कमब्याक गरेकी हुन् ।

चलचित्रमा धनाढ्य परिवारमा सन्तान जन्माउन नसक्दा नारीले कस्तो दुःख र कष्ट बेहोर्नुपर्छ ? त्यसले सम्पन्न परिवारको हाँसो र खुसी कसरी लुट्छ भन्ने देखाउन खोजिएको छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माउत्से गुरुङ, विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा शिव रेग्मी, कृष्णहरि बराल, पवित्रा घिमिरे, निरकमल खड्काले गीत लेखेका छन् । जसलाई वसन्त सापकोटा, समिर/हिमाल र एलिस कार्कीले संगीत भरेका छन् ।