सुधन गुरुङले रवि, बालेन, कुलमान, हर्क सम्पाङसहित सबै जेनजीलाई एकै ठाउँमा ल्याउने


काठमाडौं – हामी नेपाल’ नामक एनजिओका संयोजक सुधन गुरुङले रवि लामिछाने, बालेन साह, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकालसहित ७७ जिल्लाका जेनजीलाई एक ठाउँमा ल्याउने दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सबै जेनजी एकजुट भइसकेको दाबी गरेका छन् ।

‘७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म जेनजी एकजुटता सम्पन्न भइसकेको छ । अब हामी चाहन्छौँ, अन्य नेपालीहरू पनि यस नेपाल परिवर्तन अभियानमा जोडिऊन् । पार्टी प्रेमी होइन देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छ,’ उनले लेखेका छन् ।

परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्न डिजिटल प्लेटफर्म पनि सार्वजनिक गर्ने उनले उल्लेख गरेका छन् । ‘अब दोस्रो चरण सुरु हुँदै छ । जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने । हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्नु चाहन्छौँ,’ उनले भनेका छन् ।

रवि रास्वपा सभापति, बालेन काठमाडौं महानगरका मेयर, कुलमान ऊर्जामन्त्री, हर्क धरानका मेयर, सुमना रास्वपा छाडेको, सागर ढकाल कुलमानको पार्टीमा सामेल भइसकेका छन् । तर पनि सुधनले उनीहरू सबैलाई एक ठाउँमा ल्याउने बताएका छन् ।