काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् ।
प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै ओलीले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसदबाट नबनेको, दलबाट नबनेको, जेनजीबाट नबनेकोले यो सरकार कसको भन्ने प्रश्न गरेका हुन् ।
‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ,’ ओलीले प्रश्न गरे, ‘आखिर यो सरकार कसको हो ?’
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको बताए । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन,स्थानहद गर्न सरकार विभिन्न समूहका नाममा माग पत्र, ज्ञापनपत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ ।
‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंसकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापनपत्र बुझाउन लगाएको छ। कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ,’ ओलीले भने, ‘यो कुनै जेनजी समूहले गरेको होइन । सरकारले आफैं यस्ता समूहहरु खडा गरेर, आफैं ज्ञापनपत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’ यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरुसँग भएको उनले दाबी गरे ।
गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहीनतालाई प्रश्रय दिएको उनको भनाइ छ ।
ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनः स्थापना एक मात्र विकल्प भएको बताए । ‘असंवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनः स्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिन्छ,’ उनले भने, ‘यदि यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नुपर्दछ ।
संसद विघटनलाई सिंगो देशले नै अस्वीकार गरेको उनले बताए । ‘अहिलेको संसद विघटनलाई सिंगो देशले अस्वीकार गरेको छ । सबै वडाहरुले अस्विकार गरेका छन् । पालिकाहरुले अस्विकार गरेका छन् । जिल्लाहरुले अस्विकार गरेका छन्,’ ओलीले भने, ‘त्यसको प्रमाणको रुपमा एमाले वडामा उल्लेख्य जनताको सहभागितामा भएका भेला,पालिकाका जनप्रदर्शन र हिजो देशैभर भएका जनसभालाई हेर्न सकिन्छ । एमालेले सञ्चालन गरेका यी कार्यक्रममा ठूलो संख्यामा जनता उर्लिएर अहिलेको सरकार र यसका कदमलाई अस्विकृत गरिसके ।’














प्रतिक्रिया