काठमाडौं । शिक्षामन्त्री महावीर पुनले अहिलेको परिदृश्य हेर्दा जेनजी आन्दोलन तुहिएर पुराना दलको शासन फर्किने सम्भावना रहेको बताएका छन् । निर्वाचन आयोगमा धेरैभन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजीले जेनजी आन्दोलन तुहिन सक्ने उनले आशंका गरेका हुन् ।
नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरैभन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको बताउँदै उनले यस्तै हो भने पुरानाको शासन फेरि फर्कने बताएका छन् । ‘हेर्नुहोस् १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रियामा र यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफै खन्दै छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसारमा फुटेर होइन कि आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ ।’
पुरानै भ्रष्टाचारी फेरि निर्वाचित भएर आए अहिलेका राम्रा काम सबै उल्ट्याउने उनले दाबी गरेका छन् । ‘यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ । जेन–जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ,’ उनले भनेका छन्, ‘अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उल्ट्याउँछन् ।’
पुनले बारम्बार सामाजिक सञ्जालमार्फत युवा पुस्तालाई हौसला प्रदान गर्दै आएका छन् । पुराना दलको भने उनी सुरुदेखि नै विरोधमा छन् ।














प्रतिक्रिया