प्रचण्ड भन्छन्– जेनजी आन्दोलनमा माओवादी प्रशिक्षित युवा सहभागी भएकै हुन्


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनमा आफ्नो पार्टीका कार्यकर्ता परिचालन भएको स्वीकार गरेका छन् । तत्कालीन माओवादी कार्यकर्तालाई आन्दोलनमा सहभागी गराउन एक वर्षदेखि प्रशिक्षित गराएर राखेको उनको दाबी छ । भदौ २३ को जेनजी आन्दोलन १२ बजे नै सकिएको थियो । तर व्यापक घुसपैठ हुँदा प्रहरीको गोली प्रहारबाट १९ जना मारिए ।

त्यसको प्रतिशोधमा भदौ २४ गते विध्वंश मच्चिएको हो । जसमा विभिन्न समूहको घुसपैठ भएको सुर्रक्षा संयन्त्रले पुष्टि गरिसकेको छ । आन्दोलनमा माओवादी, रास्वपा, राप्रपा, दुर्गा प्रसाई समूहको घुसपैठ भएको देखिएको थियो । जसलाई तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले पनि स्वीकारेका छन् ।

आइतबार राति हिमालय टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा प्रचण्डले भने, ‘युवाहरू वा हाम्रा पनि तलका कार्यकर्ताहरू सरकार विरोधी आन्दोलन शान्तिपूर्ण हिसाबले हुन्छ भने पछि स्वतः जाने वातावरण बन्यो यो कुरा म स्वीकार गर्न चाहन्छु । एक वर्षदेखि हामीले प्रशिक्षित गरिराखेका थियौँ नि त मानिसहरूलाई, युवाहरूलाई कि बेठीक भइरहेको छ देशमा ठीक गर्नको लागि सडकमा आउनुपर्छ मानिसहरू भन्ने कुरा भनिराखेको हुनाले माओवादी मात्रै होइन अन्य युवाहरू पनि मेरो अभियानबाट अथवा हाम्रो त्यतिबेलाको पार्टीको अभियानबाट उत्प्रेरित भएनन् भनेर म भन्न सक्दिनँ, उत्प्रेरित भए ।’ भदौ २३ को आन्दोलनमा सहभागी हुन भनेर कसैलाई पनि अपिल नगरेको उनको भनाइ छ ।

‘हामीले यत्ति भनेका थियौँ, जेन–जी युवाहरूले उठाएका माग सही छन्, सरकारले बल प्रयोग नगरोस्, बरु माग पूरा गर्नेतिर लागोस् भनेर भनेको हुनाले २३ गते दिन हुन सक्छ ठूलो संख्यामा तलका माओवादी कार्यकर्ताहरू पनि गए होलान्, गएका छन् भन्ने पछि मैले थाहा पनि पाएँ । हुँदाहुँदा हाम्रो पार्टीका लिडरा छोराछोरी नातिनातिना पनि गएका रहेछन् भन्ने थाहा भयो । तर, त्यतिबेला हामीले समर्थन गरेको हो त्यो आन्दोलनलाई, मैले नै स्टाटस लेखेर समर्थन गरेका कारणले पनि त्यतिबेलाको माओवादी केन्द्रको नजिकका युवाहरू पक्कै पनि उत्प्रेरित भए ।

हाम्रो अध्यक्षले पनि समर्थन गरेको छ भनेपछि जाने नै भए’, प्रचण्डले भने । प्रचण्डले भदौ २३ र २४ को कुरा भने फरक भएको बताए । उनले २४ गते धेरै तोडफोड नहोस् भनेर केही मानिसहरू आन्दोलनमा गएको दाबी गरे । ‘माओवादीका कार्यकर्ता आमरुपमा २४ गतेको आन्दोलनमा छैनन्’, उनले भने । उनले २४ गतेको आन्दोलनमा सहभागी भएर तोडफोडमा लागेका पार्टीका कार्यकर्तामाथि कारबाहीको प्रक्रिया अगाडि बढेको बताए ।

‘सिंहदरबार जलाउने, संसद भवन जलाउने या राष्ट्रपति भवन जलाउने काममा यदि कुनै कार्यकर्ता संलग्न छ भने राज्य पनि कारबाहीको प्रक्रिया अगाडि बढाओस् हाम्रो साथ हुन्छ । पार्टीबाट त हामीले निकाल्न सुरु नै गरिसकेका छौँ, त्यस्ता केही देखिएका मान्छेहरूको पत्ता लगाएर अरु पनि प्रमाण आयो भने पार्टीबाट निकाल्छौँ । कारबाहीको लागि राज्यलाई सहयोग पनि गर्छौं’, उनले भनेका छन् ।