काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमन्त्री दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको प्रमाणित भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संकलन गरी जाँच गर्न नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो। त्यसको रिपोर्ट केही दिनअघि प्राप्त भएको हो । तर विभागले रिपोर्ट अहिलेसम्म सार्वजनिक गरेको छैन। विभाग र ब्युरोको टोलीले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति देउवा, प्रचण्ड,खड्काको जलेको घरमा पुगेर खरानी संकलनसहित मुचुल्का उठाएको थियो।
विभागले रिपोर्टबारे प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाललाई समेत बिफ्रिङ गरिसकेको छ । फरेन्सिक रिपोर्टपछि विभागलाई सम्पत्ति शुद्धीकरणमा देउवा, उनीक पत्नी आरजु देउवा, दाहाल र खड्कामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा, दाहाल र खड्काको घरमा आगो लगाएपछि पैसाको थुप्रो जलेको भन्दै भिडियो सार्वजनिक गरिएका थिए।
खड्काको घरबाट त प्रदर्शनकारीले पैसाका बिटा फालेको भिडियोसमेत सार्वजनिक गरेका थिए। त्यसपछि विभाग र ब्युरोले मुचुल्का उठाएर अनुसन्धानका लागि खरानीसहित जलेका अवशेष संकलन गरेका थिए। बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ (हजार–पाँच सयका नोट) का जलेका टुक्राहरू भेटिएको विभागको दाबी छ। तर देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी पुष्टि भएको छैन। देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गरेर घरमा पैसा राख्ने सुरुङ नभएको दाबी गरेका थिए।
प्रचण्ड निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको भिडियोहरु सार्वजनिक भएका थिए। विभागका एक अधिकृतका अनुसार देउवा, दाहाल र खड्काको घरमा पुगेर मुचुल्का गर्दा डढेका नोट भेटिएका थिए। ओलीको घरमा भने पुस्तकहरु मात्रै जलेको भनिएको थियो। विभागले ओलीको घरको अवशेषबारे केही बताएको छैन। देउवा, आरजु र खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान जारी छ ।














प्रतिक्रिया