निर्वाचन आयोगले भन्यो– सिस्टम ह्याक भएकाले छैन, सबै तथ्यांक सुरक्षित छ


काठमाडौं । निर्वाचन आयोगले बेवसाइट ह्याक नभएको दाबी गरेको छ । आयोगले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै सिस्टम ह्याक गरेको भन्ने दाबीहरू गलत रहेको र सबै तथ्यांक सुरक्षित भएको जनाएको छ ।

‘निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दावीहरूप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ,’ आयोगले विज्ञप्तिमा जनाएको छ ।

नागरिकका कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको जनाइएको छ। ‘सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू हुन्। यसमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन्।

यस सम्बन्धमा प्रकाशन एवं प्रशारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्नुहुन सबै सरोकारवालाहरूमा निर्वाचन आयोग अनुरोध गर्दछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा समस्या देखिएको छ । विभागका डीजी नमराज घिमिरेले केही समस्या देखिएको र अहिले समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको बताए । अहिले वेबसाइट खोल्दा विभिन्न इरर कोड देखाइरहेको छ ।