काठमाडौं । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशको तयारीमा छन् । त्यसका लागि उनले रास्वपाका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरिसकेका छन् । तर अझै कुनै सहमति जुट्न सकेको छैन ।
आगामी निर्वाचनमा सर्लाही ४ बाट स्वतन्त्र उठ्दा हारिने डर भएपछि उनले लोकप्रिय पार्टी खोजेका हुन् । त्यसक्रममा उनले रास्वपालाई पहिलो प्राथमिकतामा राखेको उनी निकट नेताहरुको भनाइ छ । केही समयअघि उनी एमाले प्रवेश गर्ने पनि चर्चा थियो ।
सर्लाही ४ कांग्रेसको बलियो गढ भएको निर्वाचन क्षेत्र हो । कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए । त्यसयता उनले कांग्रेसको खेदो खन्दै आएका छन् ।
अमरेशले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् । मंगलबार नक्खु कारागार पुगेर सिंहले लामिछानेसँग भेट गरेका हुन् । भेटमा देश र राजनीतिक दलमाथि जनताको विश्वास कसरी कायम गर्ने, त्यसका लागि जनताको परिवर्तनको आवेगलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको सिंहले बताए ।
सिंहले लामिछानेसँग राजनीतिक सहकार्य र कार्यगत एकताको सहमति भएको बताए । ‘बदलिँदो परिस्थिति, युवाको भावना पहिचान, विगतको विकृति विसंगति कसरी सफा गर्ने भनेर कुरा भयो । मिलेर जाऊँ भन्ने रविजीको प्रस्ताव छ । अहिले नै सबै कुराको निर्क्योल भएको छैन । तर, सम्भावना छैन भन्न मिल्दैन,’ उनले भने । अमरेशले बालेन, रवि, कुलमान र जेन–जीहरू मिलेर जनमतको माध्यमबाट परिवर्तनलाई स्थापित गर्न आफू लाग्ने बताए ।














प्रतिक्रिया