सिमरा घटना दलहरूका निम्ति छैन सुखद


काठमाडौं । बुधबार सिमरामा भएको झडपको घटनाले राजनीतिक दलका लागि सुखद सन्देश होइन । प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै जाँदा जेनजी र एमालेबिचको वाक्युद्ध भौतिक झडपकै चरणमा प्रवेश गरेपछि अन्य दलका लागि पनि टाउको दुखाईको विषय बनेको छ ।

सिमरामा घटनापछि सरकार र जेनजीले संयमताको अपिल गरेका छन् भने एमालेले आफ्ना नेताका अभिव्यक्ति उतेजनापूर्ण नरहेको बरु त्यसलाई निर्वाचनको खबरदारी गर्ने उद्देश्यका रूपमा बुझ्नुपर्ने दावी गरेको छ । चुनावी वातवरणका लागि दलहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले सामूहिक छलफल गरेकै दिन सिमरामा भएको झडप र हिंसाले सरकारलाई झस्काएको छ । बुधवार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैसँग अपिल गरेकी छिन् ।

‘बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ । म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर, यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन’, कार्कीले भनेकी छिन्, ‘मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएकी छु । लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु ।’

बुधबार बारामा भएको झडपको घटनाले सुरक्षा वातावरण बिथोलिने चिन्ता बढेको छ । एमाले र जेनजी युवाबिच भएको झडपपछि सिमरामा प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो । घटनापछि बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिए निर्वाचनको वातावरण बिग्रन सक्ने भन्दै राजनीतिक रूपमा हल गर्न पहल गर्ने निर्णय भएको छ । पछिल्लो समय एमाले र जेनजी युवाहरूबिच टकरावको अवस्था छ । दुवै पक्ष संयमित नभए देश राजनीतिक हिंसाको बाटोमा जान सक्ने सुरक्षाविद्को चिन्ता छ ।
कांग्रेस, रास्वपालगायतका दलले सिमरा घटनाको निन्दा गर्दै दलहरूलाई निर्वाध रूपमा चुनावमा जाने वातावरण बिगार्न खोजिएको टिप्पणी गरेका छन् । सिमरा घटनामा माओवादीले चलखेल गरेको आशंका गरिएको छ । सम्राट उपाध्याय नाम गरेका माओवादी युवाकै कारण बुधबार सिमरा अशान्त भएको बताइन्छ ।

एमालेले बुधबार सिमरामा महासचिव शंकर पोखरेल, महेश बस्नेतको उपस्थितिमा आमसभा गर्न खोजेको थियो । तर जेनजी र एमाले कार्यकर्ताबीच झडप भएपछि रोकिएको थियो । युवाहरूले सिमरा विमानस्थलको गेट फोडेका थिए ।