होटलमा शपथ एमालेलाई महँगो पर्दै, प्रदेश प्रमुख र सभामुख गुम्यो, मुख्यमन्त्री पनि खुस्किने


काठमाडौं । मधेश प्रदेशमा एमाले नेतृत्वका सरकार बन्नु उसकै लागि भारी पर्दै गएको छ । सरकार गठनको आह्वानसमेत नगरी रातारात होटेलमा शपथ खुवाएर जबर्जस्ती मुख्यमन्त्री पद हत्याएको घटनाले एमालेलाई ठूलो धक्का लागेको छ ।

मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई शपथ खुवाएकै दिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी थिइन् । बुधबार प्रदेश सभाको बहुमतले सभामुख रामचन्द्र मण्डललाई पनि हटाइएको छ । प्रदेश प्रमुख र सभामुख गुमाएको एमालेको मुख्यमन्त्री पनि धरापमा छ ।

कात्तिक २४ मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा भन्दै संविधानको धारा १८६ (३) बमोजिम भण्डारीले नियुक्त गरेका यादवलाई सर्वोच्च अदालतले विश्वासको मत नलिन र दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । बुधबार मण्डल सभामुखबाट पदमुक्त हुनुमा उनले एकपक्षीय रूपमा एमालेका लागि भूमिका खेलेको आरोप विपक्षी दलहरूको छ ।

विपक्षी सात दलले मण्डलविरुद्ध कात्तिक २७ मा ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बुधबार दुई तिहाइभन्दा बढी बहुमतले पारित भएपछि उनी पदमुक्त भएका हुन् ।

प्रदेश सभा सचिवालयले सभामुख मण्डल पदमुक्त भएको जानकारी बुधबार नै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई दिइसकेको छ । उपसभामुख बबिता राउत इसरको अध्यक्षतामा बसेको प्रदेश सभाको बैठकमा मण्डलविरुद्धको प्रस्तावको पक्षमा ७६ र विपक्षमा शून्य मत परेको थियो ।

एक सय सात सदस्य रहेको प्रदेश सभाको दुई तिहाइ ७२ हुन्छ । कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरूले सभामुख मण्डलविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका थिए । सत्तामा रहेका एमाले र नेपाल संघीय समाजवादीका सांसद भने प्रदेश सभा बैठकमा सहभागी नै भएनन् ।