एनपिएल हेरेर राति घर फर्किने दर्शकलाई निःशुल्क बस सेवा, पारसले गरे खेलकुदमन्त्री गुप्ताको प्रशंसा


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) हेरेर घर फर्कने दर्शकहरूलाई राति सवारीसाधनको अभाव भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले निःशुल्क बस सेवा उपलब्ध गराएका छन् ।

रातिको समय र चिसोको मौसममा सवारीसाधनको असुविधा भएको गुनासो धेरै आएपछि विभिन्न रुटमा निःशुल्क बस सेवा सुरु गरिएको मन्त्री गुप्ताले बताए ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान) को पहलमा क्रिकेट हेरेर फर्किने दर्शकका लागि बुधबारबाट निः शुल्क बस सेवा सुरू गरिएको हो ।

खेल हेरेर फर्किने आफ्नो सवारीसाधन नभएका विशेष गरी महिला, वृद्ध र अशक्तहरुको लागि निस्शुल्क बस सेवा उपलब्ध गराएको क्यानले जनाएको छ । मुस्कान ट्राभल्ससँग सहकारी गर्दै बस बेलुकी ६ देखि राति ८ बजेसम्म सञ्चालन गरिएको छ ।

एनपिएल हेर्ने दर्शक जसको सवारीसाधन छैन त्यस्ता खेलकुद मन्त्रालयले गरेको व्यवस्थाले ठूलो राहत पुगेको भन्दै क्यान सचिव पारस खड्काले मन्त्री गुप्ताको प्रशंसा गरेका छन् ।
यस्तो छ रुट
रुट १ : टीयू गेट – स्वयम्भू – बालाजु
रुट २ : टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३ : टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्‍वर – तीनकुने – गौशाला – चाबहिल
रुट ४ : टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर